कात्तिक ३, काठमाण्डौ : कोजाग्रत पूर्णिमाका दिन मूर्ति बाहिर निकालेपछि औपचारिकरूपमा शुरू भएको काठमाण्डौको हाँडीगाउँमा आज पनि ‘कहीँ नभएको जात्रा’ मनाइँदैछ । तिन दिन चल्ने जात्रामा खटको गजुर उल्टो पारेर देउतालाई माथि राखेर नगर परिक्रमा गराइन्छ । रथलाई उल्टो घुमाउनु, भगवानलाई श्रद्धापूर्वक मैनको फूल चढाउनु पनि जात्राको विशेषता हो । जात्राको मौलिक नाम चोकदे नारायणको जात्रा हो तर परम्पराका कारण जात्रालाई कहीँ नभएको जात्रा भनिएको हो । जात्रामा तीन वटा खट हुन्छन् । इसापूर्व दोस्रो शताब्दीको पुरातात्त्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरूको जग हाँडीगाउँ क्षेत्रमा भेटिएका छन् । हाँडीगाउँ क्षेत्रबाट चल्ने टुँडालदेवीको जात्रा किराँतकालीन र नारायण जात्रा लिच्छविकालीन भएको मानिन्छ । हाँडीगाउँलाई पूर्व लिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानका रूपमा लिने गरिन्छ ।