जिल्ला स्तरीय स्वास्थ्य समिक्षा : छ पालिकालाई उछिन्दै बारेकोट बन्यो पहिलो !

काठमाडौं । नेपालको स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स लगायतका ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ।

हालै चिकित्सा शिक्षा आयोगले गरेको अध्ययनले नेपालको जनसंख्याको अनुपातमा हाल ५६ हजार ५० जना चिकित्सक नर्ससहितका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको कमी देखाएको हो।

नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कमी रहेको देखाएको हो।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार आयोग स्थापना भएपछि पहिलोपटक नेपालमा विशिष्टीकृत अस्पतालदेखि आधारभूत र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको र यो अध्ययनले नेपालको हालको जनसंख्याको अनुपातमा कति स्वास्थ्यकर्मी आवश्यक छ भनेर देखाएको छ।

‘सरकारी होस् वा निजी स्वास्थ्य संस्था नेपालमा हालको जनसंख्याको अनुपातमा स्वास्थ्यकर्मीको संख्या कम छ भन्ने थियो। यसै सिलसिलामा हामीले कति स्वास्थ्यकर्मी आवश्यक रहेछ त भनेर अध्ययन गर्दा ५६ हजारभन्दा धेरै स्वास्थ्यकर्मीको अभाव रहेको पाइयो’, प्राडा गिरीले भने।

यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपालको स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति २०७७/०७८ देखि २०८७/०८८’ मा आवश्यक स्वास्थ्य जनशक्तिबारे चिकित्सा शिक्षा आयोगले अध्ययन गर्ने उल्लेख गरेको थियो।

सोही रणनीतिमा भएको व्यवस्था अनुसार आयोगले ५, १०, १५, २५, ५०, १०० र ५०० शय्याका अस्पताल, विशिष्टीकृत अस्पताललगायतको अर्गयानो ग्राम, मिनिमम सर्विस स्ट्याण्डर्डलगायतलाई आधार बनाएर भविष्यमा खुल्ने स्वास्थ्य संस्था, थपिने सेवालगायतलाई समेत ध्यान दिएर आयोगले अध्ययन गरेको आयोगका उपाध्यक्ष प्राडा गिरीले बताए।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २०७८ फागुनसम्म नेपालमा डाक्टर, नर्स /अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा एक लाख ७८ हजार ३०९ स्वास्थ्य जनशक्ति नेपालमा कार्यरत रहेका छन्।

यो संख्या बढेर २०८७/८८ सम्म स्वास्थ्यकर्मीको संख्या दुई लाख ५७ हजार ९१ पुग्ने प्रक्षेपण आयोगले गरेको छ। त्यसमा स्वास्थ्य संस्थामा कार्यरत श्रेणीविहीन कार्यालय सहयोगी, सरसफाइ कर्मचारी, सवारी चालक आदि जोड्दा अहिले स्वास्थ्य जनशक्ति २ लाख ११ हजार ९७७ रहेकोमा २०८७/८८ सम्म यो संख्या तीन लाख एक हजार ८९५ पुग्ने प्रक्षेपण छ।

अहिलेको अवस्थामा २९०४ जना एमबीबीएस डाक्टरको कमी

आयोगको जनशक्ति प्रक्षेपण (२०७९/२०८७) अध्ययन अनुसार नेपालमा हाल सबैभन्दा धेरै एमबीबीएस चिकित्सक २९०४ जना कम रहेका छन्। यस्तै विभिन्न विधाका विशेषज्ञ चिकित्सक ५ हजार ७७९ जना कम रहेको पाइएको छ।

अपुग जनशक्ति पूर्ति गर्न औसतमा एमबीबीएसतर्फ ३.०८ प्रतिशत र कन्सल्ट्यान्टतर्फ ६.४१ प्रतिशत वृद्धि गर्नुपर्ने अध्ययनमा औँल्याइएको छ। को नर्सिङ जनशक्ति (स्नातकोत्तर तह) २४२, नर्सिङ जनशक्ति (स्नातक तह) ६९८ जना र नर्सिङ तथा प्रसुति सम्बन्धि सहायक (प्रमाणपत्र) २ हजार ९२५ जना अपुग छन्। नर्सिङ स्नातकोत्तरतर्फ ११.९५ प्रतिशत, नर्सिङ सहायक स्नातकतर्फ ४.९७ प्रतिशत र नर्सिङ तथा प्रसुति सम्बन्धि सहायक प्रमाणपत्र तहतर्फ १.३१ प्रतिशतले जनशक्ति उत्पादनमा औसत वृद्धि गर्नुपर्ने निष्कर्ष अध्ययनको रहेको छ।

सबैभन्दा बढी परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने (स्नातकोत्तर तह)को जनशक्तिको अभाव देखिएको छ। २२५ जना मात्रै अहिले कार्यरत रहेको यो जनशक्तिमा १६७४ जनशक्ति अपुग भएको उक्त अध्ययनले देखाएको छ।

परम्परागत तथा सहायक चिकित्सा प्राविधिक (स्नातक)तर्फ ५४२ जनशक्ति अपुग रहेको अध्ययनले देखाएको छ । परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने स्नातकोत्तरतर्फको अपुग जनशक्ति वृद्धि गर्न औसत २४.९२ प्रतिशत वृद्धिदर हुनुपर्ने र स्नातक तहको जनशक्तिमा ४.३१ प्रतिशत औसत वृद्धि गर्नुपर्ने आयोगको उक्त अध्यनले देखाएको छ।

यस्तै आयोगले तयार गरेको नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९–२०८७)’ अध्ययन अनुसार हाल प्रति एकलाख जनसंख्यामा सामान्य चिकित्सा ९० जना दन्त चिकित्सा ३०जना फार्मेसी ३२ जना नर्सिङ २७० जना र मिडवाइफरी ४५ जना स्वास्थ्यकर्मीको आवश्यक रहेको छ।

आयोगको विवरण अनुसार विगत ३ वर्षदेखि निर्धारित कार्यक्रमगत सिट संख्याको आधारमा हाल नेपालमा चिकित्सा शिक्षाअन्तर्गत २०२१ मा आठ हजार २५१, सन् २०२२ मा आठ हजार ५६० र सन् २०२३ मा ७६५९ जना स्नातक तहमा अध्ययन गरेका छन्। यस्तै सन् २०२१ मा ८२५१ जना सन् २०२२मा ८५६० जना र सन् २०२३ मा सात हजार ६५९ जना स्नातकोत्तर तहमा अध्ययन गरेका छन्।

सन् २०२१ मा १५६७ जना सन् २०२२मा १७१८ र सन् २०२३ मा १६८४ जना स्नातकोत्तर तहमा विभिन्न विधाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अध्ययन गरेका छन्। यस्तै स्नातकोत्तर तह भन्दा माथि सन् २०२२ मा ८३ र सन् २०२३ मा १०९ जनाले अध्ययन गरेका छन्। यो संख्या चिकित्सा शिक्षा आयोग स्थापना भए पछिको हो।