गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रदेश सरकारद्धारा बजेट स्वीकृत

बजेट अभावका कारण निर्माण कार्य ठप्प भएको बाग्मती प्रदेशको चितवन जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट स्वीकृत गरेको छ ।

बाग्मती प्रदेश सरकारले बजेटको सुनिश्चित गरेसँगै रंगशाला निर्माणका लागि ठेक्का आह्वान गर्ने स्वीकृतिसमेत प्राप्त भएको हो । मंगलबार प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले बताए ।

यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।

अब कामले रफ्तार लिने, एक साताभित्र टेन्डर खुल्ने

चितवनको भरतपुर महानगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिकेपछि निर्माण कार्य ठप्प भएको थियो रंगशाला निर्माण कार्य अब अघि बढ्ने भएको छ ।

बाग्मतीको मन्त्रिपरिषद् बैठकले अघिल्लो आर्थिक वर्षमै सम्पन्न भएका आयोजनाको ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रकम पनि भुक्तानी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कटेलका अनुसार विशेषगरी भौतिक पूर्वाधारसँग सम्बन्धित आयोजनाको करिब ४० करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको छ ।

बाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्नेगरी गत २१ कात्तिकमा सम्झौता गरेका थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणको समझदारीपत्रमा हस्ताक्षरपछि बजेट जुटाउन स्रोतको खोजीलाई तीव्रता दिइएको थियो ।

रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्नेगरी प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरी तत्काल निर्माण गर्नेगरी सम्झौता भएको थियो ।

धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २२ साउन २०७८ बाट पूर्ण रूपमा रोकिएको थियो । अब बाँकी संरचना भने बाग्मती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउनेछन् । महानगरले संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरेको बताइएको छ ।

छिट्टै टेन्डर आह्वान गरिने
बजेटको व्यवस्थापन हुन नसकेकै कारण रोकिएको निर्माण कार्यले अब रफ्तार लिने भएको छ । बजेटकै कारण अलपत्र भएको रंगशालाको थप पूर्वाधार निर्माणका लागि अब यसै साता टेन्डर अह्वान हुने भएको छ ।

प्रदेश सरकारले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेसँगै रंगशाला निर्माण प्रक्रिया सुरु गर्न लागेको भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । रंगशाला निर्माणको मुख्य पहलकदमी र समन्वय भरतपुर महानगरपालिकाले गर्ने सहमति यसअघि नै भएको छ । यसअघिको फाउन्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) परिमार्जन गरी केही पूर्वाधार थप्नुपर्ने र केही हटाउनुपर्ने महानगरले टिप्पणी गरेको छ ।

पहिलो चरणमा मैदान, नाला, भीआईपी कक्ष, अन्य प्यारापिटको कामलाई राखिएको छ । थप बजेट सुनिश्चित गरेर दोस्रो फेजको कामलाई पनि अगाडि बढाइनेछ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गामा धुर्मस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत सकिएपछि बजेट अभावले रोकिएको थियो ।

कुल ३० हजार दर्शक क्षमताकोे रंगशालाको प्यारापिटमा ३ हजार दर्शक बस्न मिल्ने प्यारापिट बनिसकेको छ । प्यारापिटका लागि २ सय ८६ पिलर उभ्याइएको छ । फाउन्डेसनले ५७ करोड रुपैयाँको काम गरेको सरकारी प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसमा १८ करोड ४३ लाख रुपैयाँ विभिन्न निर्माण सामग्री दिने सप्लार्यसलाई तिर्न बाँकी छ । निर्माणका लागि थप स्रोत जुटाउन नसकेपछि फाउन्डेसनले २ पुस २०७८ मा महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।

यसरी सुरु गरिएको थियो रंगशाला निर्माण
धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्नेगरी १६ माघ २०७५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको थियो । १६ माघ शहीद दिवसको दिन रंगशाला निर्माणका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको थियो । सम्झौतामा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहालले हस्ताक्षर गरेका थिए ।

राज्यको सहभागितामा चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजनाको कार्य अगाडि बढाइएको थियो ।

कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को सो जग्गामा क्रिकेट रंगशाला बनाइने भएपछि त्रिभुवन विश्वविद्यालयले भरपुर महानगरपालिकामार्फत फाउन्डेसनलाई उपलब्ध गराएको थियो ।

२० बिघा ८ कट्ठा क्षेत्रफलमा बन्नेगरी डिजाइन तयार गरिएको रंगशाला कमलको फूल आकारको बन्ने भनिएको थियो । बहुउपयोगी हुने रंगशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसमेत रहने बताइएको थियो ।

रंगशालामा बाहिरी भागमा नेपाल चिनाउने सम्पदा समावेश गरिनुका साथै एकसिंगे गैंडा, हात्ती, पाटेबाघलगायतका जनावरको धातुको मूर्ति रहने तथा नेपालका पर्यटकीय स्थलहरूलाई चिनाउने सामग्रीसमेत रहनेगरी निर्माण थालिएको थियो ।

क्रिकेट खेलाडीहरू उत्पादन गर्न एकेडेमीसमेत रहने रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको थियो । देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइनेगरी बताइएको थियो ।

प्रारम्भिक चरणमा फाउन्डेसनको मौज्दात २ करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्च गर्ने निर्णयसँगै रंगशाला निर्माण अगाडि बढाइएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभाव भन्दै रंगशालाको निर्माण रोकिएपछि सरकारले रंगशाला निर्माणको बाँकी काम पूरा गर्ने नीति लिएको थियो । रंगशाला निर्माण सम्पन्न गर्न भरतपुर महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि संघीय सरकारले निर्माणको बाँकी काम पूरा गर्ने नीति लियो ।

निर्माणको काम गर्दैजाँदा सहयोग रकम पर्याप्त जुट्न नसकेकाले फाउन्डेसनलाई ऋण लागेपछि निर्माण कार्य रोकिएको थियो । मुलुकभरका स्थानीय तहबाट समेत फाउन्डेसनलाई सहयोग गरिएको थियो । तर, पर्याप्त सहयोग जुट्न नसक्दा निर्माण कार्य रोकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0