इजरायलबाट स्वदेश फर्किन आतुर ८ सय ८५ नेपाली

इजरायलबाट स्वदेश फर्किन आतुर ८ सय ८५ नेपाली

काठमाडौं । पछिल्लो समय खाडी राष्ट्रका द्वन्द्वग्रस्त दुई देश इजरायल र इरानबीच उत्पन्न युद्ध थप चर्किएका कारण आफ्नो ज्यान जोगाउन इजरायलमा कार्यरत ८ सय ८५ जना नेपालीले स्वदेश फर्किन नाम टिपाएका छन् ।

वैदेशिक रोजगारीका लागि विभिन्न समयमा श्रम स्वीकृति लिएर इजरायल पुगेर लामो समय त्यहाँ कार्यरत नेपाली श्रमिकले हाल दैनिक आफू बसेको स्थाननजिकै ठुल्ठुला विस्फोटनका घटना भइरहेकाले जतिसक्दो छिटो सुरक्षित रूपमा स्वदेश फर्किनका लागि सरकारले उपलब्ध गराएको सूचनाबमोजिम अनलाइनमार्फत नाम टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले इजरायलबाट नेपाल फर्किन ८ सय ८५ जना नेपालीले नाम टिपाएको जानकारी गराएकी हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो विवरण लिने काम गरिरहेबमोजिम अहिलेसम्म ८ सय ८५ जनाले स्वदेश फर्किनका लागि नाम टिपाएको बताइन् ।

इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउँदै मन्त्री राणाले भनिन्, ‘गत ३ असारबाट सरकारले उपलब्ध गराएको अनलाइन पोर्टल खोलेर नेपाली नागरिकको आफ्नो विवरण टिपाउन सुरु गरेका छन्, यस अनलाइन पोर्टलमा हालसम्म ८ सय ८५ जनाले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका छन् ।’

आगामी एक–दुई दिनमा ‘श्रम संसार’ भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर सार्वजनिक पनि गर्न गइरहेको जानकारी गराउँदै मन्त्री राणाले त्यसपछि विश्वभर छरिएर रहेका जति पनि नेपाली नागरिक सहजै सरकारको यस श्रम संसार मोबाइल एपमा जोडिने अपेक्षा गरिएको बताइन् ।

सरकारले इजरायल र इरानबीचको आन्तरिक युद्ध सुरु भएदेखि नै नेपाली नागरिकलाई प्रभावित मुलुकहरूको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको जानकारी गराउँदै मन्त्री राणाले सोही ट्राभल एड्भाइजरीमार्फत इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको बताइन् ।

उनले अहिले परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरू एवं श्रम सहचारीसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि जानकारी दिइन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूमध्ये प्रभावित देशहरूमा यदि कोही नेपाली समस्यामा परेका रहेछन् भने जतिसक्दो छिटो उद्धार गरी सुरक्षित स्थानमा सार्न तथा स्वदेश फर्काउन श्रम मन्त्रालयअन्तर्गतका निकायले पनि उत्तिकै सहयोग गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका प्रभावलाई अत्यन्त गम्भीरता साथ लिँदै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्रमन्त्री राणाले गत १३ जुनदेखि नै यस मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेको र त्यसपछि १५ जुनमा नेपाली नागरिकका लागि ट्राभल एड्भाइजरीसमेत जारी गरेर आफ्ना नागरिकलाई इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई समेत सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको बताइन् ।

प्रभावित देशमा अवैध रूपमा काम गरिरहेका नेपाली नागरिकलाई समेत यस्तो डरलाग्दो अवस्थाको ख्याल गरी वैधानिक बनाउनका लागि कूटनीतिक पहल गर्नसमेत कार्यदल गठन गरी काम अघि बढाइएको परराष्ट्रमन्त्री राणाले जानकारी गराएकी छन् ।

उनले इजरायल र इरानमा रहेका नेपालीलाई भारतको सहयोगमा उद्धार गरिँदै गरेको र मंगलबार ११ जना भारत आइपुग्ने समेत जानकारी गराइन् ।

परराष्ट्रमन्त्री राणाले इरानमा १६ जना नेपाली नागरिक रहेको र तीमध्ये ११ जनालाई उद्धार गरेर ल्याउन लागिएको जानकारी गराइन् । उनले स्वदेश फर्किन इरानमा रहेका नेपाली नागरिकलाई भारतसँगको सहयोगमा उद्धार गर्न लागिएको भन्दै उनले ११ जना नेपाली नागरिक मंगलबार भारत आइपुग्ने बताइन् ।

भारतले आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा ११ जना नेपालीलाई पनि ल्याउन लागेको मन्त्रालयले जनाएको छ । उनले आफूहरूले भारतको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेपछि भारतले आफ्ना नागरिक ल्याउँदा नेपालीलाई पनि सँगै ल्याइदिन्छु भनेको बताइन् । उद्धारको पर्खाइमा रहेकामध्ये एक जनाको ट्राभल डकुमेन्ट बनाउनुपर्ने देखिएकाले केही समय लाग्ने भन्दै उनले पाँच जना नेपाली नागरिक भने इरानको जेलमा रहेकाले उनीहरूलाई पनि उद्धार गर्न कूटनीतिक प्रयास गरिरहेको जानकारी दिइन् ।

यसैबीच, इरानको राजधानी तेहरानबाट ११ जना नेपाली आइतबार राति मसद पुगेको खबर प्राप्त भएको परराष्ट्र र श्रम मन्त्रालयले जनाएको छ । इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने तयारी गरेपछि उनीहरू करिब ९ सय किलोमिटरको यात्रा पार गर्दै इरानको अर्को सहर मसद पुगेका हुन् ।

इरानको तेहरानमा अझै पाँच जना नेपाली जेलमा रहेका छन् । उनीहरूलाई उद्धार गर्न कूटनीतिक एवं कानुनी प्रक्रिया भइरहेको मन्त्रालयले जनाएको छ ।

यी दुवै मन्त्रालयले इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई सबै संयन्त्र परिचालन गरी विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

समस्यामा परेका नेपालीलाई सुरक्षित रूपमा उद्धार गर्न सम्बद्ध मुलुकमा रहेका नेपाली राजदूतलाई समेत नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्वन्द्वग्रस्त एवं प्रभावित मुलुकहरूमा हाल हवाई उडानसमेत बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई अनलाइन भिसा तथा ट्राभल डकुमेन्ट उपलब्ध गराउने लगायत काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको सोही निर्देशनबमोजिम जोर्डन सरकारले गत बिहीबार सूचना जारी गर्दै इजरायलबाट आफ्नो सीमामा आउने विदेशी नागरिकलाई आवश्यक सहयोग गर्ने व्यहोरा उल्लेख गरेको समेत परराष्ट्रमन्त्री राणाले जानकारी गराइन् ।

भारतको उद्धारबाट पनि नेपाल आउन नपाएका बाँकी पाँच जना अध्यागमन कानुनका कारण थुनामा रहेकाले कागजी प्रक्रिया पूरा गरी स्वदेश फर्काउनसमेत मन्त्रालयले नेपाली दूतावास, दोहामार्फत पहल गरिरहेको जनाएको छ ।

सरोकारवाला निकायहरूसँग समन्वय एवं द्रुत सुनुवाइ समूहको गठनमार्फत इजरायल र इरानबाट जतिसक्दो छिटो आफ्ना नागरिकको उद्धार तथा स्वदेश फिर्तीको पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाली नागरिकको सुरक्षित उद्धारका लागि परराष्ट्रमन्त्री राणाले कतार र संयुक्त अरब इमिरेटस (यूएई) का परराष्ट्र राज्यमन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरूलाई समेत पत्र लेखेर अनुरोध गरेकाले अहिले उनीहरूबाट पनि सक्दो सहयोग भइरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0